निर्वाचनले माहौल तातिरहेकै समयमा ६८ दलको फेरी यस्तो कडा चेतावनी

काठमाडौं, बैशाख ९ ।
बैशाख ३१ गते हुन गइरहेको चुनावलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलहरू चुनाव प्रचार प्रसारका लागि तीब्र गतिमा अगाडि बढ्दै गइरहेको समयमा डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपालसहित ६८ दलले चुनाव चिन्हलाई लिएर आन्दोलनको प्रक्रियालाई अघि बढाएको छ ।
आन्दोलनरत नयाँ शक्ति नेपालसहितका ६८ दलले करिब सात दिने अनसन अन्त्य गरेको छ । रत्नपार्कको शान्ति बाटीकामा अनसनको समापन गर्दै उनीहरूले आफूहरूको एक सूत्रीय माग सम्बोधन नभए आगामी सोमबारबाट नेपाल बन्दसहितको कार्यक्रम सार्वजनिक गर्ने जनाएका छन् ।
स्थानीय तह निर्वाचन ऐनमा संसद् बाहिर रहेका दलहरूलाई चुनाव चिन्ह नदिने व्यवस्था गरिएकोप्रति घोर आपत्ति जनाउँदै उनीहरूले बैशाख २ गतेदेखि अनसन सुरु गरेका थिए । अनसन अन्त्य गर्ने कार्यक्रममा ६८ दलका अध्यक्ष एवं प्रतिनिधिले चुनाव चिन्ह नपाए बैशाख ३१ मा हुन गइरहेको स्थानीय तहको निर्वाचन बिथोल्ने चेतावनीसमेत दिएका छन् ।
नयाँ शक्ति नेपालका नेता पर्शुराम तामाङले आफूहरूको माग भोलि आइतबारसम्म पनि पूरा नभएको खण्डमा नेपाल बन्द र आमरण अनसनसहितको आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए । ‘सरकार, संसद् र निर्वाचन आयोगले आफूहरूको माग बेवास्ता गरेकाले अब व्यवस्थापिका संसद् र प्रधानमन्त्री निवास बालुवाटार घेराउसहितको सशक्त आन्दोलन घोषणा गर्छौं,’ उनले भने ।
नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले बहुदलीय व्यवस्थालाई लत्याउँदै सरकारले तानाशाही चरित्र देखाएको आरोप लगाए । ‘४० वर्षसँगै परिवर्तनमा साथी बनेका प्रचण्ड तानाशाही बन्न खोजेका छन्, नक्कली लोकतन्त्रविरुद्धको लडाईँलाई अझ सशक्त बनाउन जरुरी छ,’ उनले भने । यसअघि उनीहरूले चुनाव चिन्हको माग गर्दै देशभरका निर्वाचन कार्यालय घेराउसमेत गरिसकेका छन् ।
प्रतिक्रिया