लोकतन्त्र बलियो बनाउन सबै दलको आवश्यकता : नेता बादल

काठमाडौं, बैशाख ११ ।
नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापा बादलले स्थानीय तहको निर्वाचनमा मधेशी मोर्चालाई सहभागी गराउन आफ्नो पार्टीले ठूलो प्रयत्न गरेको बताएका छन् ।
पार्टी निकट जनकलाकार सङ्घले चुनावका लागि तयार गरेको गीति क्यासेट विमोचनका क्रममा बोल्दै उनले जनप्रतिनिधिको अभावमा लामो समयदेखि स्थानीय समस्या समाधान हुन नसकेको अवस्थामा बैशाख ३१ गते हुन गइरहेको उक्त निर्वाचनमा समावेशी प्रतिनिधित्व र सबै दलको सहभागिताले लोकतन्त्रलाई बलियो बनाउने विचार व्यक्त गरे ।
नेता बादलले मुलुकमा सामाजिक एकता र विकास निर्माणमा कलाकारले सशक्त भूमिका निर्वाह गर्न सक्ने बताउँदै देशमा जनताको सङ्घर्षबाट प्राप्त भएको सङ्घीय गणतन्त्रलाई व्यवस्थित गर्न दुई चरणमा भए पनि स्थानीय चुनाव सम्पन्न गरी देशलाई सही मार्गमा लैजान सकिने धारणा व्यक्त गरेका छन् ।
अर्का नेता मणि थापाले कलाकारले मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि सिर्जना गर्नुपर्नेमा जोड दिए ।
लेखक विश्वभक्त दुलालले स्थानीय तहको चुनावपछि देशलाई आर्थिक विकास तथा पूर्वाधार निर्माणमा केन्द्रित गर्नुपर्ने विचार राखेका छन् ।
प्रतिक्रिया