अनुसन्धान ब्यूरोका प्रमुखसमेत रहेका डीआईजी सिलवालको आरोप मलाई ‘अपहरण शैली’ अपनाइयो

काठमाडौं, बैशाख १२ ।
केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुखसमेत रहेका डीआईजी नवराज सिलवालले आफूलाई अपहरण शैलीमा उठाएको आरोप लगाएका छन् । सर्वोच्च अदालतको आदेशपछि सोमबार साँझ नै प्रहरी नियन्त्रणबाट छुटेका सिलवालले बी एण्ड बी अस्पतालमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै आफूविरुद्ध कुनै ‘पक्राउ पुर्जी र कुनै चार्ज बिना प्रहरी अधिकृतहरू आएर अपहरण शैलीमा उठाएको’ बताएका हुन् ।
कार्यसम्पादन मूल्यांकनमा कीर्ते गरेको भन्दै सरकारले छानबिन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले सोमबार बिहान सिलवाललाई पक्राउ गरेको थियो । उनले ‘म बिहान आफ्नो कानून व्यावसायी शम्भु थापाको घर गएको थिएँ । त्यही बेला प्रहरी अधिकृतहरू आएर मलाई जबर्जस्ती अपहरण शैलीमा प्रहरी प्रधान कार्यालय लगियो ।’ उनले भने, ‘कुनै पक्राउ पुर्जी पनि छैन । कुनै चार्ज बिना जबर्जस्ती लगेर बयान लिने काम भयो । त्यो पनि कसले भन्दा मेरै विपक्षीले, जोसँग म लडिरहेको छु । उसैले पक्राउ गर्ने, उसैले बयान लिने, प्रपञ्च मिलाउने, फसाउने प्रकारको जुन गतिविधि भएको छ, यसले प्रजातन्त्रको खिल्ली उडाएको छ ।’
सिलवाल पक्राउ परेलगत्तै उनकातर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दिएका थिए । प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सोमबारै उक्त रिटमा सुनुवाई गर्दै सिलवाललाई सर्वोच्चका रजिस्ट्रारको रोहबर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा थुनामुक्त गरी जहाँ राखिएको भए पनि तुरुन्तै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
तर, सिलवाललाई अदालतमा उपस्थित भने गराइएन । उनलाई स्वास्थ्यमा समस्या आएको भन्दै अस्पताल भर्नाका लागि लगिएको थियो । डीआईजी सिलवालले सरकारी कागजात कीर्ते, चेनअफ कमाण्ड तोडेकोलगायका विषयमा प्रहरीले उनीमाथी छानबिन जारी राखेको थियो । छानबिन समितिले बयानमा बोलाउँदासमेत सिलवाल नगएपछि उनलाई अनुसन्धानका लागि प्रहरीले बिहान नियन्त्रणमा लिएको थियो ।
सिलवालले तत्कालीन अर्का डीआईजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्यांकनको कागजात कीर्ते गरी त्यसमा आफ्नो नाम राखेर अदालतलाई पेश गरेको लगायत डीआईजी सिलवालले सर्वोच्च अदालतमा रिट निवेदनसँगै पेश गरेका कागजातका बारेमा प्रश्न उठेपछि प्रहरी प्रधान कार्यालयले छानबिन गर्न डीआईजी विजयकुमार भट्टको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । सोही छानबिन समितिले उनलाई नियन्त्रणमा लिएर सोमबार दिनभर बयान लिएको थियो ।
प्रतिक्रिया