राष्ट्रपतिद्वारा भूकम्पले भत्काएको भक्तपुर दरबार क्षेत्रको अवलोकन

भक्तपुर, बैशाख १२ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुर दरबार स्क्वायर क्षेत्रमा भूकम्पले भत्काएका सम्पदाको अवलोकन गरेकी छन् । गोरखा भूकम्प गएको दुई वर्ष पुगेको दिन आज उनले त्यस क्षेत्रमा पुनःनिर्माणको अवस्थाबारे जानकारी लिएकी हुन् ।
उनले भक्तपुर दरबार क्षेत्र परिसरभित्र तथा भूकम्पले भत्काएका मन्दिर, लामोपाटी सत्तल, राष्ट्रिय कला सङ्ग्रहालय, पशुपति मन्दिरलगायत अन्य सम्पदाको अवलोकन समेत गरेकी छन् ।
राष्ट्रपतिले उक्त ठाउँको अवलोकनसँगै भूकम्पले भत्काएका सम्पदाको पुनःनिर्माणका क्रममा परम्परागत रूपमा रहेका मौलिक संस्कृतिको संरक्षण हुनेगरी काम गर्नुपर्ने बताएका थिए ।
स्थानीय स्रोत साधन र जनशक्तिको प्रयोग हुनुपर्ने कुरामा जोड दिँदै उनले पुनः निर्माणलाई तीव्रता दिनुपर्ने बताएका छन् । उनले पुनः निर्माणका क्रममा भएका समस्याहरूको बारेमा पनि जिज्ञासा लिएकी छन् ।
राष्ट्रपति भण्डारीलाई प्रजिअ द्रोण पोखरेल, स्थानीय समन्वय समितिका अधिकारी धुव्रबहादुर कोइराला, भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेल, पर्यटन शाखा प्रमुख गौतम लासिवा, पुरातत्व तथा दरबार हेरचाह कार्यालयका टोलीलगायतले स्वागत गर्दै भूकम्पपछिको अवस्था र पुनःनिर्माणबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया