एमालेद्वारा संसद् बैठक अवरोध, बुधबार पुनः बैठक बस्ने

काठमाडौं, बैशाख १२ ।
व्यवस्थापिका–संसद्को बैठक भोलि ११ बजेसम्मका लागि स्थगीत गरिएको छ । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश संसद् बैठक स्थगन गरिएको सूचना प्रकाशित भएको जानकारी दिएका हुन् ।
यसअघि आज संसद् बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद् गङ्गालाल तुलाधरले सरकारले सदनमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव जायज नभएको भन्दै त्यसप्रति विरोध जनाएका थिए ।
सम्बन्धित मन्त्रीले संविधान संशोधनको प्रस्तावका सम्बन्धमा सदनलाई जानकारी नगराईकन बैठक अगाडि बढ्न नसक्ने तर्क पनि उनले दिए ।
उनले सो भनाईलगत्तै एमालेका सांसद्हरू आ–आफ्नो ठाउँबाट उभिएका थिए । सभामुख ओनसरी घर्तीले पटक/पटक आशन ग्रहण गर्न आग्रह गरे तापनि उनीहरूले नमानेपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको थियो ।
संविधान संशोधनका विषयमा आफूहरूसँग कुनै सल्लाह नगरेको बताउँदै आएको एमालेले त्यसबारेको जानकारी माग गरेको हो ।
प्रतिक्रिया