बैशाख कृष्ण औँशी अर्थात आमाको मुख हेर्ने दिन

प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार ०६:३४


काठमाडौं, बैशाख १३ ।
आज बैशाख कृष्ण औँशी अर्थात आमाको मुख हेर्ने दिन । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्ने विशेष दिनको रूपमा लिइन्छ ।

जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पूण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

“शास्त्रमा बाबुभन्दा आमा दश गुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ”– उनले भने । “कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती” अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिँल्यै कुआमा हुँदिनन् भन्ने भनाई नै छ ।

जीवित अथवा दिवङ्गत दुबै आमाको तृप्तिका लागि आजको दिनलाई पूण्यतम पर्व मानिन्छ । आजका दिन काठमाडौंको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।

मुलुकका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवङ्गत आमाको मुख हेर्ने गर्दछन् । दिवङ्गत आमाको सम्झनामा तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने दर्शनार्थीको समेत भीड लाग्ने गर्दछ । आज यहाँ आई आमाको नाममा सङ्कल्प गरेर श्राद्ध गरेमा कहिँल्यै नाश नहुने पूण्य प्राप्त भई दिवङ्गत माता खुसी हुने शास्त्रमा वर्णन गरिएको गौतमले जानकारी दिए ।

आजको दिन मातातीर्थमा रोटी खसेको र उक्त रोटी खसेको ठाउँमा दिवङ्गत आमाका मुख देखेको जनविश्वास छ । द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन बैशाख कृष्ण औँशीको दिन परेको थियो ।

कुण्डमा देखिएकी आमाले ती ग्वालालाई नरोऊ प्रत्येक वर्ष बैशाख कृष्ण औँशीका दिन हामी दिवङ्गत माता यहाँ आउँछौं भनेपछि त्यसैबेलादेखि मेला लाग्न थालेको मातातीर्थ संरक्षण तथा विकास समितिका सल्लाहकार भाईकृष्ण बलामीले जानकारी दिए ।

आमा हुनेहरूले आजका दिन आफूलाई मन पर्ने मीठा–मीठा खानेकुरा र बस्त्र आमालगायत गुरुआमा, सासु र काकीहरूलाई दिने र आशीर्वाद ग्रहण गर्ने गर्छन् ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....