राप्रपाले स्थानीय तहको चुनावका लागि आज घोषणा पत्र जारी गर्दै

काठमाडौं, बैशाख १३ ।
स्थानीय तहको चुनावका लागि विभिन्न राजनीतिक दलहरूले पार्टीको घोषणा पत्र जारी गर्ने काम हुँदै गर्दा व्यवस्थापिका संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आज एक कार्यक्रमकाबीच आफ्नो पार्टीको घोषणा पत्र जारी गर्ने भएका छन् ।
जारी हुने घोषणा पत्रमा हरेक परिवारमा कम्तीमा एक जनालाई रोजगारी दिइने, बेरोजगारहरूका लागि स्वरोजगार कोष स्थापना गरी तालिम, सहुलियत ऋण उपलब्ध गराउने, निर्वाचन सम्पन्न भएको एक महिनाभित्र प्रत्येक परिवारको आर्थिक अवस्था सर्वेक्षण गरी काम सुरुलगायतका कार्यक्रम समेटिएका छन् । गाउँ र नगरपालिकाभित्रका प्रत्येक वडामा पाँच वर्षभित्रमा मोटर बाटो पुर्याउने, प्रत्येक नगरपालिका र नगरउन्मुख गाउँपालिकाहरूमा योजनाबद्ध शहरी विकास योजना कार्यान्वयन गरिने, नगरपालिकाहरूमा थप गरिएका नयाँ वडाहरूमा समेत समानुपातिक ढङ्गले विकास कार्यक्रम सञ्चालन गरिने घोषणा पत्रमा उल्लेख गरिएको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।
करिब १७ पृष्ठ भएको पत्रमा विभिन्न क्षेत्रमा पार्टीले गर्ने विकास, कृषि, वातावरणका विषय समेटिएको उनले बताए । गाउँ र नगरपालिकाभित्र २५ जनाभन्दा बढीलाई रोजगारी प्रदान गर्ने, उद्योग तथा व्यावसायलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर मिनाहा गरिने, उपरोक्तबमोजिमका उद्योग व्यावसायलाई जग्गा, बिजुली, पानी र बाटोमा सहुलियत दिइने, कृषि क्षेत्रको व्यावसायीकरण, आधुनिकीकरण र यान्त्रीकीकरणका लागि प्रत्येक गाउँ र नगरपालिकाको विशिष्टताको आधारमा कृषि क्षेत्र विकास योजना कार्यान्वयन गरिने, गाउँ र नगरपालिकाको सम्भाव्यता अध्ययन गरी एक गाउँ र नगर एक उत्पादन अभियान सञ्चालन गरिनेलगायतको योजना छ ।
कुनै पनि बहानामा बन्द कार्यक्रम नगरिने संकल्प राप्रपाले गरेको छ । उद्यमीहरूलाई स्थानीय कर मिनाहा र अन्य सुविधा दिइने, गाउँ र नगरपालिका क्षेत्रमा प्लाष्टिकका झोलाहरू प्रयोगलाई पूर्ण रूपमा निषेध गरिनेछ, एक घर दुई बिरुवा अभियान सञ्चालन गरिनेलगायत जारी हुने घोषणा पत्रमा समावेश गरिएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया