सरकार र प्रतिपक्षबीच गोप्य वार्तामा पहिलो चरणको चुनाव सर्ने संकेत

काठमाडौं, बैशाख १६ ।
यही बैशाख ३१ गते हुन लागेको स्थानीय निर्वाचन लागि लक्षित गर्दै बालुवाटारमा शुक्रबार बसेको प्रमुख दलहरूको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावबारे अस्पष्ट धारणा राख्दै प्राविधिक कारणल गर्दा चुनाव सर्ने संकेत गरेका छन् ।
प्रधानमन्त्रीले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूसँग पहिलो चरणको स्थानीय निर्वाचनको मिति केही पर सर्नसक्ने संकेत गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले निर्वाचन दुई चरणमा गर्दा पनि पूर्वघोषित वैशाख ३१ को मितिलाई केही पर सार्नुपर्ने भन्दै घुमाउरो प्रस्ताव राखेका थिए ।
फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले भने, ‘मैले प्रधानमन्त्रीको भावना बुझें अनुसार उनले घुमाउरो भाषामा बैशाख ३१ को निर्वाचन केही पर सार्ने तथा निर्वाचन एकै चरणमा गर्ने दिविधा युक्त धारणा राख्नुभयो ।’
उक्त बैठकमा सहभागी अधिकांश नेताहरूले स्थानीय निर्वाचन एकै चरणमा गर्नुपर्ने धारणा राखेको चौधरीले जनाएको छ । सत्तापक्षका नेता नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले प्रधानमन्त्री दाहाललाई पैसाको खेलमा लागेर संंशोधन प्रस्ताव पारित गराउनतर्फ नलाग्न सुझाव दिँदै एमालेलाई सहमतिमा ल्याउन प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने दलहरू बीचको बैठक कुनै निर्णयमा पुग्न नभई सत्ता गठबन्धनका दलहरूबीच स्थानीय निर्वाचन, मतगणना प्रक्रिया, संसद्मा विचाराधीन संशोधन प्रस्तावमाथि दुई तिहाई पु¥याउने प्रयास र आगामी आर्थिक वर्षको बजेटमा केन्द्रित रहेको थियो ।
प्रधानमन्त्री दाहाललाई निर्वाचन एकै चरणमा सम्पन्न गर्न सम्पूर्ण दलका नेताहरूले सुझाव दिएका थिए । एकै चरणमा निर्वाचन गर्न सम्भव नभए दोस्रो चरणको निर्वाचन सकिए पछि मात्रै मतगणना सुरु गर्न सत्ता पक्षका नेताले सुझाव दिएका छन् ।
प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन विद्येयकलाई टुंगोमा पु¥याउन सरकारको तर्फबाट अधिकतम प्रयास हुने आश्वसन दिँदै वैशाख ३१ र जेठ ३१ गरी दुई चरणमा स्थानीय तहको निर्वाचन हुने हुँदा निर्वाचनलाई उत्सवको रूपमा मनाउन आग्रह गरेका छन् ।
उनले दुबै चरणको चुनाव सम्पन्न भएपछि एकैपटक मत गणना गर्न निर्वाचन आयोगलाई अनुरोध गर्ने बताउँदै संविधानमा उल्लेख भए अनुसार दलहरूकै सहमतिका आधारमा दुवै चरणको निर्वाचनपछि बजेट ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता बैठकमा गरेका थिए ।
बैठकमा मधेसी मोर्चाका नेताहरूले संशोधन प्रस्ताव पारित भए निर्वाचन कति चरणमा र बजेट कहिले कसरी प्रस्तुत गर्ने भन्नेमा आफूहरूलाई खासै चिन्ता र चासो नहुने धारणा राखेका थिए ।
फोरम लोकतान्त्रिकले निर्वाचन जेठ ३१ मा एकै पटक गर्न तथा बजेट असारमा ल्याए पनि हुने धारणा राख्दै संघीय आयोगले सीमांकनमा जाँदा झापा, सुनसरी, मोरङ, नवालपरासी, कैलाली र कञ्चनपुरको किटानीका साथ प्राथमिकतामा पार्नुपर्ने सुझाव दिएको थियो ।
बैठकमा सहभागी एमाले नेता अग्नि खरेलले पनि निर्वाचन एकै चरणमा गर्नुपर्ने बताए । पहिलो चरणको निर्वाचनको मतगणनाले अर्कोलाई प्रभावित पार्ने हुँदा मतगणना गर्न नहुने धारणा राखेका छन् ।
उनले संविधानमा उल्लेख मितिमै बजेट ल्याउनु पर्ने आफ्नो पार्टीको धारणा रहेको अडान राखेका छन् । उप–प्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले एमालेसहितका दलले दुई चरणमा नभई निर्वाचन एकै चरणमा गर्न सुझाएको प्रशंग सिन कोट्याएका छन् ।
मन्त्रिपरिषद् बैठक बसेकै बेला प्रधानमन्त्री दाहालले संशोधन परिमार्जन गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गर्नुभएको समेत निधिले जानकारी दिएका छन् ।
एकातिर सत्ता पक्षका दलहरूको बैठक चलिरहेको थियो भने अर्कोतर्फ गोप्य ढंगले सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच बालुवाटारमा संशोधन, निर्वाचनको चरण र बजेटका बारेमा गम्भीर परामर्श भएको जनाएको छ ।
एमाले नेता माधवकुमार नेपाल र भीमबहादुर रावल, माओवादी नेता नारायणकाजी श्रेष्ठबीच लामो परामर्श भएको थियो । संसद्मा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सकिएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री दाहाल पनि बालुवाटारको गोप्य परामर्शमा सहभागी भएको जनाएको छ ।
प्रतिक्रिया