कांग्रेसले निर्वाचनमा जित्नैपर्ने भन्दै आफ्ना नेता कार्यकर्ताहरूलाई प्रचारमा होम्न निर्देशन

काठमाडौं, बैशाख १६ ।
सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले स्थानीय तहलाई सुदृढ गर्न नेपाली कांग्रेसले निर्वाचन जित्नैपर्ने भएकाले सोहीअनुसार प्रचारमा लाग्न आफ्ना नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।
स्थानीय तह निर्वाचनका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका शीर्ष नेताहरूले कांग्रेस कमजोर हुँदा २०६४ सालमा संविधान बन्न नसकेको र २०७० सालको निर्वाचनमा कांग्रेस बलियो हुँदा मुलुकले संविधान पाएको भन्दै स्थानीय तहलाई सम्मृद्ध बनाउन पनि कांग्रेसले निर्वाचन जित्नैपर्ने दाबी गरे ।
सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुदृढ गर्दै संविधानलाई सर्वस्वीकार्य बनाएर समृद्ध राष्ट्र बनाउने अभियानमा कांग्रेस रहेको बताए ।
उनले संविधान संशोधनमा सहयोग गर्न एमालेलाई आग्रहसमेत गरेका छन् । एमाले बिना पनि दुई तिहाई मत पुर्याएर संविधान संशोधन गरिने भन्दै उनले स्थानीय निर्वाचनमा सबैलाई सहभागी गराइने प्रतिबद्धता व्यक्त गरे ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा भएको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको भन्दै कांग्रेसलाई मत दिएर नेपालको सम्मृद्धिको बाटो खोल्न अपिलसमेत गरे ।
उनले कृषि, पर्यटन र ऊर्जाको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिने बताए । कांग्रेस प्रचार प्रसार समितिका संयोजक रमेश लेखक र सहसंयोजक गगन थापाले कांग्रेसले ल्याएको घोषणा पत्र घोषणा मात्र नभएर प्रतिबद्धता पत्र भएको बताए । उनीहरूले कांग्रेसले स्थानीय तहमा जिते त्यो हुबहु कार्यान्वयनमा लानेसमेत दाबी गरेका छन् ।
प्रतिक्रिया