साझा पार्टीद्वारा ललितपुरको मेयर र उपमेयरमा महर्जन र शाक्यको उम्मेदवारी

ललितपुर, बैशाख १६ ।
आउँदो बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि वरिष्ठ पत्रकार रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी नेपालले पनि ललितपुर महानगरपालिकाका लागि मेयर र उपमेयरका लागि उम्मेदवार छनौट गरेको छ ।
उसले ललितपुरको मेयरमा केन्द्रीय संयोजन समितिका सदस्य रमेश महर्जन र उपमेयरमा शोभा शाक्यलाई अघि सारेको हो । साझा पार्टी निर्वाचन आयोगमा दर्ता नभइसकेको अवस्थामा दुबै जनाले स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव लड्ने भएका छन् ।
रमेश महर्जन नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष हुन् । उनी नेपाल चेम्बर अफ कमर्सको कार्यसमितिका सदस्य पनि हुन् । हाल उनी २०७२ सालको महाभूकम्पपछि पाटनको पिलाछेलाई पर्यटन र संस्कृतिको केन्द्र बनाउने अठोटसहित स्थानीयको सहभागितामा करिब सय वटा भवनलाई परम्परागत नेवार वास्तुकलामा पुनःनिर्माण गर्ने कार्यको नेतृत्व गरिरहेका छन् ।
यस्तै शोभा शाक्य धार्मिक तथा सामाजिक कार्यमा सक्रिय व्यक्ति हुन् । हाल उनी शाक्यसिंह विहारकी उपाध्यक्ष रहेकी छन् । शाक्यले पाटन औद्योगिक क्षेत्रमा रहेको आफ्नो उन तथा हस्त बुनाई कारखानामा पाँच सयभन्दा बढी महिला कामदारलाई रोजगारी दिँदै आएकी छन् ।
प्रतिक्रिया