राजनीतिक उथलपुथल : प्रधानमन्त्री दाहाल संसद् विघटन गर्ने कसरतमा

काठमाडौं, बैशाख १८ ।
मुलुक स्थानीय तहको निर्वाचनतर्फ अघि बढ्दै गर्दा एकाएक राजनीतिमा आएको परिवर्तनले देश अब कतातिर लम्किने हो भन्ने प्रश्न आमजनताले सोच्न थालिसकेका छन् ।
आइतबार नेपालको इतिहासमै पहिलो पटक प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएर निलम्बन गरेपछि उपप्रधानमन्त्री विमलेन्द्र निधिले पनि आइतबार साँझै प्रधानमन्त्री पुष्पकमल दाहाललाई फोन गरी राजीनामा दिएको जानकारी गराएका थिए भने अर्को सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आज आकस्मिक बैठक बसी सरकारबाट बाहिरिने निष्कर्षमा पुग्ने तयारीमा रहेको पार्टी निकट श्रोतले बतायो ।
यसरी देशमा बदलिँदो राजनीतिक खिचातानीसँगै प्रधानमन्त्री पुष्पकमल दाहाललाई अहिले के गर्ने के नगर्ने भन्ने स्थितिमा पुगेका छन् । श्रोतले जनाएअनुसार उनले संसद् विघटनको तयारीसमेत गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीमाथी लगाइएको महाअभियोग प्रस्तावसँगै नयाँ धुब्रीकरण देखिएपछि प्रधानमन्त्री दाहालले संसद् विघटन गर्ने र चुनाव पनि सार्ने तयारी गरेका छन् । श्रोतले भन्यो, उनले संसद् विघटनको तयारीका लागि आन्तरिक छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री दाहालले स्थानीय चुनाव कमजोर भएको, संशोधन प्रस्ताव पारित हुने सम्भावना नदेखिएको, राप्रपाले सरकार छाड्ने तयारी गरेकाले संसद् विघटन गरेर राजनीतिलाई नयाँ बाटोमा लैजान खोजेको श्रोतको दाबी छ । ‘प्रधानमन्त्री संसद् विघटनको छलफलमा पनि लागेका छन्’ श्रोतले भन्यो ‘कुनै बेला घोषणा भयो भने आश्चर्य नमाने हुन्छ ।’ कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबमा महाअभियोग ल्याइएको प्रधानमन्त्रीले आन्तरिक छलफलमा बताएका छन् । संसद् विघटन गरेर सरकार पनि नछाड्ने र संसद् र स्थानीय चुनाव एकै पटक गर्ने तयारीमा दाहाल लागेका छन् ।
प्रतिक्रिया