राप्रपा पनि सरकारबाट बाहिरिने निर्णय, सरकारलाई दिएको समर्थन भने कायमै

काठमाडौं, बैशाख १८ ।
सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार छोड्ने औपचारिक निर्णय गरेको छ । पार्टीको आज बसेको कार्यसम्पादन समितिको बैठकले महाअभियोग प्रस्तावको कारण देखाउँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
यसअघि आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेपछि राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले सरकारलाई समर्थन जारी राख्ने बताएका थिए । आज बिहान बसेको बैठकमा यस विषयमा निर्णय हुन नसकेपछि साँझका लागि बैठक डाकिएको थियो ।
बैठकमा अध्यक्ष कमल थापाले तत्कालका लागि सरकार छाड्न नहुने अडान राखे पनि उनको कुरामा पार्टीका अन्य वरिष्ठ नेताहरूले अस्वीकार गरेका थिए । निकै लामो छलफलपछि बैठकमा मध्यमार्गी उपायको खोजी गर्ने विकल्प राप्रपाले अगाडि सारेको छ । राप्रपाले चुनावमा जाने, संविधान संशोधन प्रस्तावलाई समेत समर्थन गर्ने र सरकारलाई बाहिरबाटै समर्थन गर्ने गरी सरकार छाड्ने निर्णय गरेको हो ।
बैठकका गरिएको महत्वपूर्ण निर्णय :
(१) आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तर, सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने,
(२) संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने,
(३) महाअभियोग प्रस्तावलाई समर्थन गर्न नसकिने र
(४) स्थानीय तहको निर्वाचनमा सहभागी हुने ।
प्रतिक्रिया