वर्तमान सरकार आफ्नो खुट्टामा आफैँ बञ्चरो हान्दै, गच्छेदारले दिए यस्तो चेतावनी

काठमाडौं, बैशाख १९ ।
वर्तमान सरकारमा सम्मिलित केही शीर्ष मन्त्रीहरू र व्यवस्थापिका संसद्मा रहेका केही सांसद्हरूले हात्तेमालो गरेर गरेको हतारको निर्णयले अहिले प्रचण्ड सरकारलाई आफ्नो खुट्टामा आफैँ बञ्चरो हानेजस्तै भएको छ ।
रातारात निर्णय गरेर इतिहासमै पहिलो पटक प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई रातको निन्द्रा नै हराए जस्तो हुन पुगेको श्रोतले जनाएको छ ।
एकपछि अर्को आपतले पछ्याई रहँदा पुनः मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानन्यायाधीश कार्कीमाथीको महाभियोग तत्काल फिर्ता नलिए वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनसक्ने कडा चेतावनी तेस्र्याएका छन् ।
प्रधानमन्त्री दाहालसँग सोमबार साँझ भेटेवार्ता गर्दै गच्छदारले महाअभियोग जस्तो प्रस्ताव संसद्मा दर्ता हुँदा सरकारलाई समर्थन दिएका दलहरूसँग परामर्श नगर्नुको उद्देश्य स्पष्ट गर्नसमेत दाहालसँग माग गरेका छन् ।
प्रधानमन्त्री दाहालले सोमबार नै राप्रपाले सरकारको समर्थन फिर्ता लिएको हुँदा लोकतान्त्रिकलाई सरकारमा सहभागी हुन गरेको आग्रहलाई गच्छदारले ठाडै अस्वीकार गरेको श्रोतको दाबी छ । फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले भने, ‘सरकारलाई दिएको समर्थन आजको दिनसम्म जारी छ । भोलिका दिनमा उसको गतिविधिमा निर्भर रहन्छ ।’
प्रतिक्रिया