दाेलखास्थित राताे मच्छिन्द्रनाथकाे रथ यात्रा क्षमा पूजा गरी स्थगित

प्रकाशित मिति: २६ चैत्र २०७६, बुधबार १६:२७


दाेलखा, चैत्र २६ ।
विश्वभर महामारीकाे रूपमा फैलिँदै गइरहेकाे काेराेना भाइरस (कोभिड–१९) को सङ्क्रमणकाे सम्भावित जोखिमलाई ध्यान दिँदै दाेलखाकाे ऐतिहासिक रातो मच्छिन्द्रनाथकाे रथ यात्रा पनि स्थगित भएको छ ।

चैत्र पूर्णिमाको दिन रातो मच्छिन्द्रनाथलाई स्थानीय गुरुजुले जल र दूधले महास्नान गरी क्षमा पूजा गरी रथयात्रा स्थगित गरिएको हो । रातो मच्छिन्द्रनाथ रथ यात्राका क्रममा हजारौँको संख्यामा भक्तजनहरूको सहभागिता हुने भएकाले रथ यात्रा स्थगित गरिएका हो ।

‘जात्राका लागि नयाँ रथ निर्माणलगायतका सबै तयारी भइरहेको थियो । तर, यस समय कोरोनाको महामारीको संक्रमणको खतरामा रहेको तथा सोको रोकथामको लागि सरकारले देशैभर लकडाउन गरेको छ ।

संक्रमणको जोखिमलाई कम गर्न सजगताको लागि जनस्तरबाट पनि भीडभाडका कार्यक्रम नगर्नु उचित हुन्छ । त्यसैले जात्रा स्थगित गर्ने निर्णय गरिएको भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष विराजमान श्रेष्ठले बताए ।

वर्षा र सहकालका देउता मानिने रातो मच्छिन्द्रनाथलाई स्थानीय नेवार समुदायले साक्षात् भगवानको रूपमा समेत पूजा गर्ने गर्छन् । यो जात्रामा करुणा, लोककल्याणकारी र सहकालको देवता मच्छिन्द्रनाथको स्थानीय महिलाहरू दिनभर निराहार बसी पूजा गर्ने गर्दछन् ।

चैत्र पूर्णिमाको दिन रातो मच्छिन्द्रनाथलाई गुरुजुले पानी र दूधले महास्नान गरी पूजा गरेर भोलिपल्ट डोकलुंगाटोलबाट बाजागाजासहित पिङ्गलमा निर्माण गरिएको रथमा विधिपूर्वक विराजमान गराई द्वितीयादेखि रथ तान्न सुरु गर्ने परम्परा रहेकाे छ ।

पिङगलटोलबाट सुरु भएको रथ जात्रा विभिन्न टोलको परिक्रमा गरी पुनः पिङ्गलटोलमा पनिइ त्यसको भोलिपल्ट रथबाट रातो मच्छिन्द्रनाथलाई निकाली विधिपूर्व पूजा गरेर दोलखाको मुलबाटो हुदै मन्दिरमा पुर्‍याई जात्रा सम्पन्न गर्ने गरिन्छ ।

टसिचा टोलबाट बुद्ध स्तुपासम्मको रथयात्रा ६० डिग्री उकालोमा तान्नुपर्ने भएकोले कठिन तर, रमाइलो अनुभव हुने गर्दछ । यो दिन रथ यात्रा मध्यकै रमणीय हुने भएकोले उपत्यकालगायत विभिन्न स्थानबाट दशनार्थीहरूको भीड लाग्ने गर्दछ । त्यस्तै भोलिपल्ट त्यही ओरालो बाटो हुँदै रथलाई दुंगलटोल पुर्‍याइन्छ ।

मच्छिन्द्रनाथको दोलखामा रथ यात्रा सुरु भएपछि पानी पर्ने धार्मिक विश्वास रहेकाे छ । नेपाल सम्वत् ६३९ बैशाखदेखि रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको अनुमान गरिएको छ ।

तत्कालीन समयमा ललितपुरका पाटनका महागुरुदेव बज्राचार्यले बुङ्गमतिस्थित रातो मच्छिन्द्रनाथको मूर्तिलाई दोलखाको ढोक लुंगा टोलमा ल्याई शास्त्रीय विधिपूर्वक मूर्ति स्थापना गरी रथमा राखी दोलखा बजार परिक्रमा गराएको उल्लेख छ ।


प्रतिक्रिया


ताजा खबर

More

रिलायबल समृद्धि योजना बैशाख ३ गतेबाट बिक्री खुला

काठमाडौं, बैशाख २ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबर्द्धक तथा रिलायबल.....