महाअभियोग प्रस्ताव अगाडि बढाउनेबारे छलफल हुँदै, आजै संसद् बैठक बस्दै

काठमाडौं, बैशाख २२ ।
व्यवस्थापिका संसद्को बैठक आज पनि बस्ने भएको छ । संविधान संशोधन विधेयक अगाडि बढाउने की निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाउने भन्ने बारेमा कुराकानी नमिलेपछि हिजो स्थगित संसद् बैठक आज बिहान १० बजे बोलाइएको छ । बैठकमा कार्कीमाथीको महाअभियोग प्रस्तावको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आजको बैठकमा पनि हिजोको कार्यसूची जस्ताको तस्तै राखिएको बताएका छन् ।
महाअभियोग फिर्ता लिन सरकारले अस्वीकार गरेपछि एमालेले संसद् चल्न नदिने अडान लिएको छ । यसैबीच, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावका कारण संसद् बैठक अवरुद्ध भएपछि सभामुख ओनसरी घर्तीमगरले आज तीन ठूला दलका शीर्षस्थ नेताको बैठक बोलाएका छन् ।
सहमति जुटाउने प्रयास स्वरूप सभामुख घर्तीमगरले बिहान साढे ८ बजे बानेश्वरस्थित संसद् भवनमा बैठक आव्हान गरिएको उनका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । त्यसअघि हुने दलीय बैठकमा हुने सहमतिले आज संसद् चल्ने नचल्ने टुङ्गो लाग्नेछ ।
प्रतिक्रिया