वैद्य नेतृत्वको (क्रान्तिकारी माओवादी)ले पनि स्थानीय चुनावमा भाग लिने

काठमाडौं, बैशाख २३ ।
दोस्रो संविधानसभा निर्वाचनको अवधिमा आमहडताल घोषणा गरी बहिस्कारमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले पनि स्थानीय तह निर्वाचनमा सहभागिता जनाउने भएकोे छ ।
सो पार्टीले आफ्नै नाममा निर्वाचनमा भाग नलिए पनि नेता सिपी गजुरेलको नेतृत्वमा देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरेर त्यसैको नाममा चुनावमा भाग लिइरहेको छ ।
संसद्मा प्रतिनिधित्व नगरेकै कारण सो दलले चुनाव चिन्हसमेत पाएका छैन । पार्टीको चुनाव चिन्ह नपाएपछि सो दलका उम्मेदवारले स्वतन्त्र हैसियतमा फरक/फरक चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।
सो पार्टीका अध्यक्ष मोहन वैद्यले आज जारी गरेको एक विज्ञप्तिमा पार्टीले स्थानीय तहको निर्वाचनमा भाग नलिएता पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललाई समर्थन गर्ने नीति लिएको जनाएको छ ।
मोर्चाका उम्मेदवारको पक्षमा मतदान गर्नका लागि मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्र तथा बुद्धिजीवीसहित सम्पूर्ण उत्पीडित वर्ग र जनसमुदायसित अध्यक्ष वैद्यले अनुरोध गरेका छन् ।
नयाँ जनवादी क्रान्तिको तयारी गर्न, गलत राजनीतिको विरोध गर्न, भ्रष्टाचारीलाई दण्डसजाय दिन र जनताको सेवा गर्नका लागि स्थानीय निर्वाचन पनि एउटा उपयुक्त माध्यम हुनसक्ने आफूहरूले देखेको विज्ञप्तिमा उल्लेख छ । सो उद्देश्यमा सहयोग पु¥याउनका लागि मोर्चाका उमेदवारलाई मत दिई विजयी बनाउन सबैसँग वैद्यले आग्रह गरेका छन् ।
माओवादी केन्द्रबाट छुट्टिएर गएको क्रान्तिकारी माओवादीले सो पार्टीसँग स्थानीय तहको निर्वाचनमा तालमेल गर्न भने अस्वीकार गरेकोे छ । (माओवादी केन्द्र)का नेता मणि थापाले तालमेलका लागि क्रान्तिकारी माओवादी इच्छा नदेखाएकाले सो विषयमा छलफल हुन नसकेको जनाएको छ ।
उनकाअनुसार हामी तामलेलका लागि तयार छौंँ, तर उहाँहरु चुनाव जित्ने भन्दा पनि विचारको रक्षा गर्छौ भन्दै हुनुहन्छ । क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले नेपाली काँग्रेस, नेकपा(एमाले), माओवादी केन्द्र र राप्रपासँग चुनावी तालमेल नगर्ने पार्टी नीति रहेको स्पष्ट पारेका छन् ।
उनले आफूहरु तीन कुरालाई मध्य नजर गरी निर्वाचनमा गएको जानकारी दिँदै भने ‘पहिलो निर्वाचनमार्फत आफ्नो विचार जनतासमक्ष पु¥याउने, दोस्रो सङ्गठन विस्तार गर्ने र तेस्रो जित्ने ठाउँमा नेतृत्व लिने लक्ष्य छ।’
अहिले नीति र सिद्दान्तलाई बिर्सिएर दलहरुबीच भइरहेको चुनावी तालमेललाई आफ्नो पार्टीले राजनीतिक व्यापारका रूपमा लिएको उनले टिप्पणीसमेत गरेका छन् ।
प्रतिक्रिया