चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूको गाडीमा पेट्रोल बम प्रहार गर्ने क्रम बढ्दै

चितवन, बैशाख २४ ।
खैरहनी नगरपालिकाका नेपाली कांग्रेसकातर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरेर राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठकाअनुसार खैरहनी नगरपालिका–९ बछौलीस्थित चौधरीको घरमा बा. ८ च १५६२ नम्बरको स्कारपियो गाडीमा बम प्रहार भएको हो ।
बम विष्फोट हुन नपाएकाले ठूलो क्षति हुनबाट जोगिएको उनले बताए । गाडीको अगाडिको सिसा केही चर्किएको छ । रातको समयमा अपरिचित व्यक्तिबाट बम प्रहार भएको उनले बताए । बम प्रहार गरी फरार भएकाहरूको खोजी कार्य तीब्र रूपमा भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि शनिबार बिहान भरतपुर महानगरपालिका–१० स्याउलीबजारमा माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेणु दाहाल हाल बसोबास रहेको घर नजिकै एउटा गाडीमा तोडफोड भएको थियो । चुनाव विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले हालसम्म १४ जनालाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइएको जनाएको छ ।
प्रतिक्रिया