प्रमुख निर्वाचन आयुक्त डा. यादवद्वारा पूर्वाग्रह नराखी काम गर्न निर्देशन

काठमाडौं, बैशाख २४ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सूक्ष्म अनुगमनकर्तालाई कसैप्रति पूर्वाग्रह नराखी निष्पक्ष भएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
पहिलो चरणको स्थानीय तह निर्वाचनमा खटेर जाने अनुगमनकर्ताका लागि आज आयोजित प्रशिक्षणमा उनले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन गराउन आयोगको विशेष दूतका रूपमा काम गर्न उनीहरूलाई सुझाव दिएका हुन् ।
डा. यादवले भने, ‘सबै राजनीतिक दल र उम्मेदवार प्रचार–प्रसारमा जुट्नुभएको छ, निर्वाचनको विश्वसनियता बढाउनको लागि तपाईंहरूले भूमिका खेल्नुस्, निर्वाचन आचार–संहिता पालनामा ध्यान दिनुस्, कुनै उम्मेदवार र दल केन्द्रित भावना नराख्नुस् ।’ खटिएको जिल्लाको संवेदनशीलतालाई बुझेर आयोगको गौरब बढाउने काम गर्न पनि उनले अनुगमनकर्तालाई निर्देशन दिएका छन् ।
आयुक्त ईश्वरीप्रसाद पौडेलले मतदान अधिकृत, उम्मेदवार, पर्यवेक्षक र सुरक्षाकर्मीबाट समेत आचार–संहिताको परिधीभित्र रहेको निर्वाचनसँग सम्बन्धित गतिविधि भए नभएको बारे जानकारी लिन खटाइएका अनुगमनकर्तालाई आफ्नो जिम्मेवारी अनुरूपको गोपनीयता राखेर काम गर्न सुझाब दिँदै उनले भने, ‘कुनै पनि राजनीतिक दल र ट्रेड युनियनप्रतिको भावनालाई त्याग्नुस्, अन्यथा निजामती सेवामा तपाईंहरूको भविष्य खतरामा पर्न सक्छ ।’
आयोगका सचिव गोपीनाथ मैनालीले निर्वाचनमा खटिएका कर्मचारी पनि आचार–संहिताको दायराभित्र रहनुपर्ने पक्षलाई हेक्का राखेर आयोगको आँखा र कानका रूपमा जिम्मेवारी पाएका अनुगमनकर्ताले घर–आँगनमा सरकार निर्माणका लागि हुने निर्वाचनको ऐतिहासिक महत्वलाई बुझ्नुपर्ने बताए । ती अनुगमनकर्ताले खटिएका जिल्लामा एक साता जिम्मेवारी सम्हाल्ने छन् ।
प्रतिक्रिया