शंकाकै घेरामा चुनावको तयारी अन्तिम चरणमा, मतदाता परिचय पत्र बिहीबारबाट वितरण

काठमाडौं, बैशाख २५ ।
यहीँ बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको चुनाव दलहरूको आ–आफ्नै अडानका कारण चुनावको वातावरण बन्दै गए पनि हुने नहुने दोसाँधकाबीच नेपाली जनता अझै पनि अन्यौलमा रहेका नै छन् ।
नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका केही नेता कार्यकर्ताहरूलाई चुनावविरोधी विभिन्न क्रियाकलापमा संलग्न भएका कारण देखाउँदै विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेपछि हिजो पार्टीका महासचिवसमेत रहेका विप्लवले एक प्रेस विज्ञप्ति नै जारी गरी पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरूलाई निःशर्त रिहा गर्न मागसमेत गरेका छन् ।
यस्ता क्रियाकलाप र विभिन्न स्थानमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरूबीच झडप हुनु र विभिन्न जिल्लामा चुनाव प्रचार–प्रसारमा प्रयोग गरिएका गाडीमाथी तोडफोड र आगजनी हुनुले पनि चुनाव हुने हो की होइन भन्ने प्रश्न चिन्ह अझै जनमानसमा व्याप्त नै रहेको छ ।
अर्कोतिर एकै चरणमा चुनाव गराउनु पर्ने र दुई चरणमा चुनाव गराउँदा विभिन्न समस्याहरू उत्पन्न हुने कुरालाई पनि बेला–बेलामा विभिन्न दलका नेताहरूले उठाउने गरेका कारण मतदाताहरू अन्यौलमा परेका हुन् ।
तर, पनि आउँदो आइतबार हुने पहिलो चरणको स्थानीय तह चुनावको तयारी अन्तिम चरणमा पुगेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताएका छन् । उनले चुनावमा हुने र नहुने कुरामा शंका नगर्नसमेत सबैमा आग्रहसमेत गरिसकेका छन् ।
प्रमुख आयुक्त डा. यादवकाअनुसार चुनावमा आवश्यक सबै सामाग्री जिल्लामा पुगिसकेको र सबै मतदान केन्द्रमा सुरक्षाकर्मी खटिसकेको जनाएका छन् । आउँदो बुधबारसम्म सबै केन्द्रमा निर्वाचन अधिकृतसहित मतपत्र, मतपेटिकालगायतका सामाग्री पनि पुगिसक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।
उनकाअनुसार बिहीबारदेखि मतदाता परिचयपत्र वितरण कार्य पनि सुरु हने भएको छ । बिहीबार, शुक्रबार र शनिबार सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने तयारी रहेको छ । मतदान गर्न मतदाता परिचय पत्र अनिवार्य चाहिने भएकाले आफ्नो मतदान केन्द्रबाट परिचय पत्र लिन आयोगले सबैसँग आग्रहसमेत गरेको छ ।
आयोगकाअनुसार आफ्नो मतदाता परिचयपत्र लिन मतदाता आफैँ केन्द्रमा जानुपर्छ, जान नसक्ने भएमा परिवारका सदस्यमार्फत लिन मञ्जुरीनामा दिएर पठाउन सकिने उल्लेख गरेको छ ।
प्रतिक्रिया