आरोप साबित गरेर देखाउनुस्, यो मुलुक छाडेर जान तयार : कुलमान घिसिङ

काठमाडौं, बैशाख २६ ।
लामो संघर्षपछि राजधानीलाई लोडसेडिङ मुक्त बनाएर वाहवाह कमाउन सफल व्यक्ति नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङ अहिले आरोप–प्रत्यारोप खेप्न बाध्य भएका छन् ।
उनी अहिले लिड बल्बको कारण आरोप खेप्न बाध्य भएका हुन् । उनले भारतसँग खरिद गर्न लागेको लिड बल्बमा कुनै पनि अनियमितता नभएको र नहुने प्रष्टसमेत पार्दै बल्ब खरिदमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि घिसिङले यस विषयमा स्पष्ट पार्न आज प्राधिकरणमा पत्रकार सम्मेलनको नै आयोजना गरे ।
पत्रकार सम्मलेनमा बोल्दै उनले बल्ब खरिद प्रक्रियामा आफू वा आफ्नो टीमले पैसा खाएको प्रमाणित गरेर देखाएको खण्डमा आफू यो मुलुक छाडेर जान तयार रहेको बताए । निकै भावुक मुद्रामा देखिएका घिसिङले भने ‘मैले लिड बल्बबाट नेपाली जनताको पैसा खानु पर्दैन, मैले पैसा खान चाहेको भए, दुई/तीन घण्टा लोडसेडिङ गराइदिए पुग्थ्यो ।’
उनले एलईडी बल्ब खरिद प्रक्रियामा अनियमितता भएको भन्ने आरोप सुनियोजित रूपमा लगाइएको समेत दाबी गर्दै उनले भने, ‘लिड बल्ब खरिदमा अनावश्यक विवाद झिकेर नियोजित रूपले आफ्नो चरित्र हत्या गर्ने खेल भएको छ, हामीले अनियमितता गरेको भन्ने कुनै प्रमाण भेटिए म झुण्डिन तयार छु ।’
उनले बल्ब खरिदका लागि ईसीएल कम्पनीसँग भएको सम्झौता, बिललगायतका कागजसमेत सार्वजनिक गरेका छन् । उनले एक सय ५० रुपैयाँमा गुणस्तरीय एलईडी बल्ब नेपालकै कुनै व्यापारीले उपलब्ध गराए आफू त्यो किन्न तयार रहेकोसमेत स्पष्ट पारेका छन् ।
प्रतिक्रिया