देशलाई निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा भएको मन्त्री थापाको भनाई

पोखरा, बैशाख २७ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्यमन्त्री गगन थापाले संविधान कार्यान्वयन गरी देशलाई निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताएका छन् ।
नेपाली कांग्रेस कास्कीद्वारा पोखरा चिप्लेढुङ्गास्थित बिपी चोकमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै मन्त्री थापाले निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको दुई चरणकै निर्वाचन सम्पन्न गरी कांग्रेसले आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरेका छन् ।
मन्त्री थापाले अहिलेको निर्वाचन राम्रो काम गर्ने दललाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने नेपाली जनताको एक महान अवसर भएको धारणा राखेका छन् । उनले स्थानीय सरकार बलियो बनाएर विदेशिएका लाखौँ युवायुवतीलाई स्वदेशमै रोजगारीका अवसरमा सिर्जन गर्ने गरी कांग्रेसले विशेष कार्यक्रम ल्याउने बताएका छन् ।
पार्टीका केन्द्रीय नेता एवं निर्वाचन परिचालन समितिका संयोजक डा. शेखर कोइरालाले कांग्रेसले स्थानीय तहलाई भ्रष्टाचारमुक्त, सुशासन, जवाफदेहिता र पारदर्शी बनाउन चाहेको बताए ।
उनले कांग्रेसबाट विजय प्राप्त गर्ने जनप्रतिनिधिले पाँच वर्षसम्म ती निकायलाई समृद्ध बनाउन सधैँ खबरदारी गर्ने दृढता व्यक्त गरे ।
प्रतिक्रिया