लुम्बिनीको समग्र विकासको लागि ध्यान दिन उपराष्ट्रपतिको आग्रह

बुटवल, बैशाख २७ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले २५६१ औँ बुद्धजयन्तीका अवसरमा आज बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित मूलसमारोह कार्यक्रमलाई सम्बोधन गर्दै बुद्धको पञ्चशीलको सिद्धान्त व्यवहारमा ल्याउन सकेमा मात्र मानव जीवन सार्थक हुने बताएका छन् ।
उनले बुद्ध एक महान दार्शनिक हुुनुको साथै बुद्धको शिक्षा जीवनयोगी र अहिले झन् सान्दर्भिक रहेको बताउँदै, बुद्ध दर्शनको महत्व अझै बढेको पनि बताए ।
उपराष्ट्रपति पुनले लुम्बिनीको विकासको लागि लुम्बिनी विकास कोषले थप कार्ययोजना अगाडि बढाउनु जरूरी रहेको बताउँदै लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्रामलाई पनि एकैसाथ जोडेर विकास कार्यलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।
बुद्धको दर्शन बुझ्न र बुझाउनको लागि एकीकृत परिचय दिनु आवश्यक छ । बुद्धको जन्मस्थलबारे फैलाइएको भ्रम बारे चिर्न जरुरी रहेको छ ।
नेपाल सरकारलाई लुम्बिनीको समग्र विकासको लागि ध्यान दिन आग्रह गर्दै उनले लुम्बिनी आउने पर्यटकलाई कम्तीमा पनि दश दिन बस्न सक्ने वातावरण मिलाउन सकेमा लुम्बिनीको पर्यटकीय विकास हुने बताए ।
कार्यक्रममा सांसद कमलेश्वर पुरी गोश्वामीले गौतम बुद्धको जन्मस्थल विश्व शान्तिको खोजको लागि गृहत्याग गरेका गौतम बुद्धले विश्वमा शान्तिको दीप जलाएको भन्दै बुद्ध धर्मको विशेष प्रसारप्रसारको खाँचो रहेको बताए ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले नेपाल सगरमाथा र भगवान गौतम बुद्धको देशको रूपमा विश्वले चिन्ने गरेको बताउँदै बौद्ध धर्मको सुत्रपात भएको लुम्बिनीलाई देशले विशेष महत्वपूर्ण स्थानको रूपमा विकास गरोस् पनि भने ।
सो अवसरमा उपराष्ट्रपति पुनले लुम्बिनी विकास कोषमा २५ वर्ष सेवा गरेकी मीना शर्मालाई दीर्घसेवा र अन्य १० जनालाई सम्मान गरेका छन् ।
कार्यक्रम विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधको अध्यक्षतमा भएको कार्यक्रममा बुद्धको जीवनी झल्काउने नृत्य र झाँकी प्रस्तुत गरिएको थियो ।
उपराष्ट्रपति पुनले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पुगेर दर्शन गर्नका साथै मायादेवी मन्दिरको बारेमा जानकारी लिनुभएको थियो ।
प्रतिक्रिया