चुनाव प्रचार–प्रसारको अन्तिम दिन शीर्ष नेताहरूको आजको कार्यक्रम

काठमाडौं, बैशाख २८ ।
आज बैशाख २८ गते चुनाव सम्बन्धी प्रचार–प्रसार गर्ने अन्तिम दिन राति १२ बजेबाट चुनाव प्रचार–प्रसार बन्द हुँदैछ । प्रचार–प्रसारका लागि आज शीर्ष नेताहरू अन्तिम प्रचार–प्रसारमा जुटेका छन् ।
तीन जिल्लामा कांग्रेस सभापति शेरबहादुर देउवा आज व्यस्तता रहने छ । बिहीबार मध्याह्न ११ बजे चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको उक्त सभामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी हुनेछन् । बिहीबारै देउवाले लमजुङको सुन्दरबजार नगरपालिका तथा काठमाडौंको असन र बूढानीलकण्ठमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तीन जिल्लाको चुनाव प्रचारमा भाग लिन देउवाले हेलिकोप्टर प्रयोग गर्दै छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली बिहीबार चितवनको भरतपुरमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । भरतपुर र पोखरा–लेखनाथ महानगरमा कांग्रेस र माओवादीबीच तालमेल भएपछि एमालेले यी दुवै महानगरलाई प्रतिष्ठाको विषय बनाएको छ । अध्यक्ष ओली पनि पछिल्लो समय सत्तारुढ दलहरूप्रति आक्रामक बन्दै गएका छन् । बुधबार मात्रै उनले काठमाडौंमा आयोजित कार्यक्रममा एमालेलाई मत नहाल्नुपर्ने कारणबारे सार्वजनिक बहसमा आउन सबैलाई चुनौती दिएका छन् ।
चितवन र काठमाडौंमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार कांग्रेस र माओवादीको संयुक्त आयोजनामा चितवनको भरतपुरमा हुने सभालाई सम्बोधन गर्दै छन् । भरतपुर महानगरबाट प्रचण्डपुत्री रेणु दाहाल मेयरको उम्मेदवार बनेकी छिन् । बिहीबारै उनी काठमाडौंका दुई चुनावी सभामा पनि सहभागी हुने कार्यक्रम छ । दिउँसो नागार्जुन र साँझ कीर्तिपुर नगरपालिकाको चुनावी सभालाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौं इन्चार्ज लेखनाथ न्यौपानेले बताए ।
नेता रामचन्द्र पौडेलले पनि बिहीबार लमजुङको मध्यनेपाल तथा तनहुँको शुक्लागण्डकी र भिमाद नगरपालिकाका सभालाई सम्बोधन गर्दै छन् । केन्द्रीय सदस्य शेखर कोइराला पोखरामा र कल्याण गुरुङ चितवनमा खटिएका छन् ।
नेता माधव नेपालले उपत्यकाका कागेश्वरी, महालक्ष्मी र कीर्तिपुर नगरपालिकाका सभालाई सम्बोधन गर्नेछन् । त्यस्तै झलनाथ खनालले काठमाडौंमा, वामदेव गौतमले पोखरा र ईश्वर पोखरेलले चितवनका सभालाई सम्बोधन गर्नेछन् ।
नेता नारायणकाजी श्रेष्ठ गृहजिल्ला गोरखामा खटिएका छन् । त्यस्तै, नेता बादल भरतपुर, देव गुरुङ पोखरा, पम्फा भुसाल ललितपुर र हितमान शाक्यले काठमाडौं महानगरपालिकाको निर्वाचनमा पार्टीको कमान्ड सम्हालेका छन् ।
नयाँ शक्ति पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पाँच दिन गृहजिल्ला गोरखाका चुनावी कार्यक्रममा सहभागी भएर काठमाडौं फर्केका छन् । बिहीबार उनले उपत्यकाका चुनावी सभाहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यस्तै, स्थानीय चुनाव आफ्नो पक्षमा पार्न राप्रपा अध्यक्ष कमल थापा पनि जिल्ला दौडाहामा छन् । तीन दिनदेखि उनी गृहजिल्ला मकवानपुरमा खटिएका छन् ।
प्रतिक्रिया