बिहीबार पाटन दरबार स्क्वायर १ हजार ३ सय ३६ मिटर रंगिन धागाेले सजिँदै

प्रकाशित मिति: ५ बैशाख २०८१, बुधबार १८:०९


काठमाडाैं, बैशाख ५ ।
ललितपुर महानगरपालिकास्थित पाटन दरबार स्क्वायर क्षेत्र भाेलि बिहीबार १ हजार ३ सय ३६ मिटर लामाे रंगिन धागोले सजिने भएको छ ।

बिहीबार विश्व सम्पदा दिवसका अवसर पारेर कलाकार मनिषलाल श्रेष्ठले आफ्नो ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कलालाई पाटन दरबार स्क्वायर क्षेत्रमा प्रस्तुति दिन लागेका हुन् । समुदाय कलाअन्तर्गत ‘हेरिटेज वाक’ मा आफ्नो कलालाई समावेश गर्न लागेको श्रेष्ठले बताएका छन् । ललितपुर चेम्बर अफ कमर्शको सहकार्यमा बिहीबार दिउँसो १ बजेदेखि पाटनढोकाबाट कार्यक्रम सुरु हुने उनले जानकारी गराएका छन् ।

कलाकार श्रेष्ठकाे ‘प्रोजेक्ट १३३६’ कला २०१७ मा नै तयार भइसकेकाे थियाे । यसभन्दा अघि देश तथा विदेशमा श्रेष्ठले यो कला प्रदर्शनसमेत गरिसकेका छन् । काठमाडौंकै कुरा गर्ने हाे भने पनि माइतीघर, बबरमहलस्थित नेपाल आर्ट काउन्सिल, बौद्धस्थित तारागाउँ म्युजियम र बौद्ध सम्पदा क्षेत्रमासमेत कला प्रदर्शन गरिसकेका छन् ।

उनको कलाले विशेषतः काठमाडौंलाई सम्बोधन गरेको छ । ‘समुद्री सतहबाट १ हजार ३ सय ३६ मिटरको उचाइमा रहेको काठमाडौंलाई केन्द्रमा राखेर कलाको अवधारणा बनेको उनले सुनाए ।

उनकाअनुसार लामो विविध रङ्गको धागोले काठमाडौंको बहुल समाज, संस्कृति, जाति र समुदायलाई प्रतिनिधित्व गर्छ । धागोकै माध्यममा विविधतमा एकता र मानवताको अर्थ खोतल्ने प्रयास गरिएको श्रेष्ठले बताए ।

उनले भने, ‘काठमाडौंमा एक किसिमको एकता पाइन्छ । हामी नचिनेको मानिसहरू एकै ठाउँमा मिलेर बसेका छौँ । हामी एक अर्कामा जोडिएका छौँ भन्ने मूल कुरा मेरो यस कलाले प्रस्तुत गर्नेछ ।’

चीनको बेइजिङमासमेत उनले पहाड जस्तो माथिबाट लामो डोरीका रूपमा झारेर यो कला प्रदर्शन गरेका थिए । त्यहाँका कलाप्रेमीले समेत कलालाई निकै चाख मानेर अवलोकन गरेको उनले विगतका कुरा पाेखे ।

देश र भूगोल फरक भए तापनि मानवता, नाता, सम्बन्ध र एकता भन्ने कुरा सबै ठाउँमा एकै हुने भएकाले कलाले सबैलाई जोड्ने उनले सुनाए । विश्वमा चलिरहेको आतंक, युद्ध र हराइरहेको मानवतालाई समेत आफ्नो कलाको अवधारणाले छुने उनको धारणा रहेकाे छ ।

विश्व सम्पदामा गरिने कला प्रदर्शनीमार्फत् कला, सम्पदा र कलाकारलाई जोड्नुका साथै कलाप्रेमीहरूलाई एकैसाथमा ल्याउने उनको विश्वास छ ।

खासमा उनलाई यसरी नै देश तथा देश बाहिरका सबै सम्पदाहरूमा गएर आफ्नो कला प्रदर्शन गर्न इच्छा छ । यसलाई उनले कला प्रर्दशनीकै योजनामा समेटेर राखेका छन् ।

ललितपुर क्षेत्रभित्रको मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, सम्बर्द्धन र प्रचारका लागि कला प्रदर्शनी गरिएको ललितपुर बाणिज्य संघका कार्यकारी सदस्य तथा पर्यटन संस्कृति तथा सम्पदा संयोजक महेश्वरलाल फ्वसीले बताए ।

प्रदर्शनीमा ललितपुर महानगरपालिका, संघलगायतका संस्थाले सहकार्य गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर निष्काशन सम्झौता

काठमाडाैं, बैशाख १८ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण.....