फरार रहेका जीबी राईकाे पासपाेर्ट रद्द गर्न राहदानी विभागलाई पत्राचार
काठमाडाैं, जेठ १ ।
सहकारीको अरबौं रकम अपचलन गरेको अभियाेग लागेपछि फरार सूचीमा रहेका जीबी राईको पासपोर्ट रद्द गर्न प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गर्दै राईको पासपोर्ट रद्द गर्न भनेको हो ।
यसअघि, प्रहरीले इन्टरपोल शाखामार्फत् राईलाई नेपाल झिकाउन रेड नोटिससमेत जारी भएको थियो । उनी हाल मलेशिया रहेको र भागेर अन्य मुलुकमा जाने सम्भावना रहेकाले प्रहरीले उनको पासपोर्ट रद्द गर्न आग्रह गरेको हो ।
राईको पासपोर्ट रद्द गरी सोको जानकारी मलेशियन राजदूताबास, प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखा नक्साल र जिल्ला प्रहरी कार्यालयमा पठाइदिन आग्रह गरिएको छ ।
पत्रमा भनिएको छ : मुख्य प्रतिवादी गितेन्द्र बाबु राईलाई तत्कालै प्रहरी नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने र तत्काल निजलाई पक्राउ नगरे मुद्दासँग सम्बद्ध सबुद, प्रमाणहरू लोप तथा नास गर्न सक्ने वा निज हाल बस्दै आएको देश मलेशियाबाट समेत भागी अन्य देशहरूमा जान सक्ने भएकाले निजलाई सपुर्दगी सन्धिमार्फत् सहजै नेपाल झिकाउनको लागि निजले प्रयोग गरी रहेको नेपाली राहदानी नं. ११६९८७२७ राहदानी ऐन, २०७६ बमोजिम रद्द गर्ने प्रयोजनार्थ सोसँग सम्बन्धित कागजातहरू यसै पत्र साथ संलग्न राखी पठाइएको छ । प्राप्त भएपश्चात् नियमानुसार निज प्रतिवादीको राहदानी रद्द गरी सोको जानकारी मलेशियन राजदूताबास, तालुक प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखा नक्साल, काठमाडौं र यस कार्यालयमा पठाई दिने व्यवस्था हुन सादर व्यहोरा अनुरोध गरिएको छ ।
प्रतिक्रिया