नेपाल भ्रमणमा रहेका ७२ वर्षीय जापानी नागरिक ताकासीकाे प्याराग्लाइडिङकाे क्रममा दुर्घटना हुँदा मृत्यु
![](https://liveofnepal.net/wp-content/uploads/2025/02/Pyaraglaiding.jpg)
काठमाडाैं, माघ २४ ।
नेपाल भ्रमणमा रहेका एक ७२ वर्षीय जापानी नागरिक काजी ताकासीकाे उदयपुरमा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको छ ।
उदयपुरको बेलका नगरपालिका-८, बोप्ताङ डाँडाबाट बुधबार साँझ सोलो प्याराग्लाइडिङ उडान गरेका ताकासी सप्तकोशी नदीनजिकै फुटबल मैदानमा खसेका थिए । गम्भीर घाइते भएका उनलाई धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएपछि उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिएका छन् ।
बेलका नगरपालिकाको बोप्ताङस्थित फ्लाइङ वन्डर्स प्याराग्लाइडिङ स्कूलको टेकअफ ल्याण्डबाट ताकासी उडेका थिए । प्याराग्लाइडिङ स्कूलका सञ्चालक सुरेन गुरुङ भने आफू बाहिर रहेकाले घटनाबारे सुने पनि धेरै जानकारी नरहेको बताएका छन् । उनले स्कूलसँग अनुमति नलिई ताकासीले आफूखुशी प्याराग्लाइडिङ उडान गरेको सञ्चार माध्यमलाई बताए । मृत्यु भएका जापानी नागरिकको शव जापान पठाइसकेको उनले दाबीसमेत गरेका छन् । तर, शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको नेपाल प्याराग्लाइडिङ तथा ह्यान्ड ग्लाइडिङ संघका केन्द्रीय अध्यक्ष भुपेन्द्र चाम्लिङ राई (भुपाल)ले जानकारी दिए ।
अध्यक्ष राईले ताकासी जापानको प्याराग्लाइडिङ प्रशिक्षक नै रहेको जानकारी पाएको बताए । विदेशी नागरिकहरू नेपाल आउँदा नै के प्रयोजनका लागि आउने भन्ने खुलाएर आउनुपर्ने भएकाले प्याराग्लाइडिङ स्कूललाई जानकारी हुनुपर्ने उनले बताए । संघसँग भने विदेशी नागरिक उडानका लागि आएकोबारे कुनै जानकारी नरहेको उनको भनाई रहेकाे छ ।
उडानअघि नै ताकासीको नाकबाट रगत बगेको देखिएको, हृदयाघातका कारण मृत्यु भएको अनुमान गरिएको र यसबारेमा चिकित्सकहरूले अध्ययन गरिरहेको जानकारी पाएको राईले बताए ।
कोशी प्रदेश प्रहरीका प्रवक्ता दाहालले शव जापान पठाउन कानूनी प्रक्रिया भइरहेको र यसबारे काठमाडौंस्थित जापानी दूताबासलाई जानकारीसमेत गराइसकेकाे बताएका छन् ।
प्रतिक्रिया