नबिल बैंककाे ‘नबिल एसएसई’अन्तर्गत फेलाेसिप कार्यक्रम सम्पन्न
![](https://liveofnepal.net/wp-content/uploads/2025/02/Fellow-Impact-final.jpg)
काठमाडाैं, माघ २५ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोसल इन्टरप्रेनरशीप (नबिल एसएसई)अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको ‘Celebrating Fellowship, Journey of Impacts’ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित कार्यक्रममा फेलाेसिप कार्यक्रमकाे दोश्राे र तेश्राे कोहर्टका सहभागीहरूलाई प्रमाण-पत्रसहित बिदाइ तथा चौथौँ कोहर्टका सहभागीहरूको स्वागत गरिएको थियाे ।
बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्यमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यको साथ गत तीन वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा फेलोशीप कार्यक्रमका सहभागीहरूले नवीन उद्यममार्फत् प्राप्त गरेको उपलब्धि, प्रशिक्षकहरूको योगदान तथा कार्यक्रमको समग्र प्रभावबारे चर्चा गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिन प्रा.डा. महानन्द चालिसेले नबिल एसएसई कार्यक्रम सामाजमा परिवर्तन ल्याउन महत्वपूर्ण पहल भएको चर्चा गर्दै यसलाई थप विकास र विस्तार गर्न सकिने धारणा व्यक्त गरे । उनले नबिल एसएसई जस्ता कार्यक्रमले नवउद्यमीलाई व्यावसायिक विकासका लागि मार्गदर्शन गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथी त्रिविका उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले उद्यमी र शैक्षिक संस्थाबीचको सहकार्य सामाजिक उद्यमशीलता प्रबर्द्धनका लागि महत्वपूर्ण भएको धारणा व्यक्त गरे । ‘यो कार्यक्रमले युवाहरूमा जागिर खाने होइन जागिर दिने मानसिकतामा परिवर्तन ल्याउनेछ,’ उनले भने ।
नबिल बैंकका निर्देशक निर्वाण चौधरीले सामाजिक उद्यमशीलताको महत्वबारे चर्चा गर्दै फेलोसिप कार्यक्रमले विभिन्न कठिनाइका बाबजुद पनि नेपाली युवालाई रोजगारदाताका रूपमा अघि बढ्न प्रेरित गरिरहेको उल्लेख गरे । उनले कार्यक्रममा सहभागीका उत्पादनहरू क्रमशः परिष्कृत हुँदै गएकामा खुशी व्यक्त गर्दै नेपाली उद्यमशीलतालाई विश्व बजारसम्म विस्तार गर्न सकिने सम्भावनाबारे चर्चा गरे ।
त्रिविका रेक्टर प्रा.डा. खड्ग केसीले छिमेकी मुलुक चीनले सन् १९८० को दशकदेखि नै यसप्रकारका कार्यक्रम सञ्चालन गरिरहेको उदाहरण पेश गर्दै नेपालमा पनि शैक्षिक संस्था र उद्योगीबीच सहकार्यको आवश्यकता औँल्याए । नबिल बैंकले उद्यमशीलता प्रबर्द्धनका लागि त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यको प्रशंसा गर्दै प्रा.डा. केसीले नबिल एसएसईले रोजगारी प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले फेलोसिप कार्यक्रमअन्तर्गतको चौथो समूहलाई स्वागत गर्दै यसअघिका तीन समूहका सहभागीले ४५ वटा उद्यम स्थापना गरी हालसम्म १ हजार २ सय जनालाई रोजगारी उपलब्ध गराइरहेको जानकारी दिए । उनले प्रवासी नेपाली कामदारहरूले आर्जन गरेको शीप सदुपयोग गरी स्वदेशमै उद्यमशीलताको विकास गर्न सकिने धारणा व्यक्त गरे ।
नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कार्यक्रमलाई सफल बनाउन त्रिभुवन विश्वविद्यालयको निरन्तर सहकार्यप्रति आभार व्यक्त गरे । उनले भारतमा सफलतापूर्वक कार्यान्वयन गरिएको उक्त कार्यक्रमको अनुशरण गरी नेपालमा सुरु गरिएको कार्यक्रमले सफलता प्राप्त गरिरहेको बताए ।
साेही अवसरमा फेलोसिप कार्यक्रमका दोश्राे र तेश्राे समूहका सदस्यहरूलाई प्रमाण-पत्र वितरण गरिएको थियो भने चौथो समूहलाई औपचारिक रूपमा स्वागत गरिएको थियो । साथै प्रशिक्षकहरूलाई योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा फेलोहरूले आफूले उत्पादन गरेका विभिन्न सामानहरूको प्रदर्शनी तथा बिक्रीका लागि २० भन्दा बढी स्टलहरू राखिएका थिए ।
नबिल एसएसईले उद्यमशीलता विकास गर्न आवश्यक व्यावहारिक तालिम, मार्गदर्शन, सञ्जाल विस्तार र वित्तीय पहुँच स्थापनामा ठूलो सहयोग गरिरहेको सरोकारवालाहरूले जानकारी दिए । साथै फेलोसिप कार्यक्रमका सहभागीहरूले नबिल बैंकले उद्यमी बन्न आवश्यक ज्ञान, शीप तथा मार्गदर्शन प्रदान गरेकोमा कृतज्ञता व्यक्त गरे । कार्यक्रममा भाग लिएसँगै व्यावसाय विस्तारमा सहयोग भएको उनीहरूले बताए ।
नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल एसएसई कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन् । नबिल एसएसईअन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्समार्फत् हालसम्म १ सय १७ उद्यम स्थापना भई १ हजार २ सयभन्दा बढी रोजगारी सृजना भइसकेको बैंकले जनाएको छ । फेलोसिप प्रोग्राम त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सात वटै प्रदेशका ११ वटा शैक्षिक संस्थाबाट नबिल सेन्टर फर सोसियल इन्टरप्रेनरशीप स्थापना भई सञ्चालन भइरहेको बैंकले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।
प्रतिक्रिया