काठमाडाैंकाे क्षेत्रपाटीबाट चाेरी भएकाे माेटरसाइकल नयाँ बजारमा फेला, एक पक्राउ

काठमाडाैं, फागुन ५ ।
काठमाडौं महानगरपालिकाको क्षेत्रपाटीबाट चोरी भएको मोटरसाइकल काठमाडाैंकाे नयाँ बजारमा फेला परेको छ ।
क्षेत्रपाटीस्थित एक होटेलमा पार्किङ गरेर राखिएको अवस्थामा गत माघ ११ गते राति चोरी भएको ग. १६ प १३२५ नम्बरको मोटरसाइकल नक्कली नम्बर प्लेट राखेर चलाउँदै गरेको अवस्थामा प्रहरीले नयाँ बजारबाट फेला पारेको हो ।
प्रहरीले सो मोटरसाइकलमा प्रदेश ३-०२-०१२ प ७३७३ नम्बर राखेर चलाउँदै आएको अवस्थामा धादिङको गङ्गाजमुना गाउँपालिका-९ का २८ वर्षीय सुरज गुरुङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।
मोटरसाइकलसहित नियन्त्रणमा लिइएका गुरुङलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पछिल्ला समय प्रहरीले चोरीका मोटरसाइकलको खोजीलाई तीब्रता दिँदै आएकाे छ ।
काठमाडौं प्रहरीले चोरी वा हराएका मोटरसाइकलसम्बन्धी उजुरी दिने र खोजी कार्य गर्न सहज हुने सफ्टवेयर निर्माण गरी कार्यान्वयनमा ल्याउने तयारीसमेत गरेको छ ।
प्रतिक्रिया