प्रेम विवाहकाे विषयमा दुई पक्षबीच भएकाे झडपमा परी प्रहरीसहित १९ घाइते

काठमाडाैं, फागुन १३ ।
प्रेम विवाहको विषयलाई लिएर पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा आज मंगलबार दुई पक्षबीच उत्पन्न भएकाे झडपमा परी प्रहरीसहित १९ जना घाइते भएका छन् ।
ईलाका प्रहरी कार्यालय महेशपुरको बा. १ झ ७४४८ नम्बरकाे गाडीमा आगजनी भएको छ । नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चार जना घाइते भएको प्रहरीले जनाएको छ । झडपमा घाइते भएका पाल्हीनन्दन गाउँपालिका-३ कुश्माका ३५ वर्षीय विजय धवलको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण थापाले बताए ।
धवलको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ । केटी पक्षका सोवराती पवरियाले चलाएको लु. १ त ७७०० नम्बरकाे पिकअपले ठक्कर दिँदा धवल गम्भीर घाइते भएकाे छन् । धवलको पेटमा चोट लागेको छ । धवलसँगै सोही स्थान बस्ने ४५ वर्षीय बैजनाथप्रसाद लोनियलाई पनि गाडीले ठक्कर दिएको हो । लोनियको दुबै खुट्टामा चोट लागेको छ ।
प्रहरीले घटनालाई नियन्त्रणमा लिन पाँच राउण्ड अश्रु ग्याँस र तीन राउण्ड हवाई फायर गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । केटाकेटीको प्रेम सम्बन्धलाई लिएर सुरु भएको विवादले उग्र रूप लिएकाे थियो । केही दिन अगाडि एक स्थानीय केटा र केटीबीच भागी विवाह भएको थियो । पछि दुबै जनालाई प्रहरीले छलफलपश्चात् अभिभावकको जिम्मा लगाएको थियो । तर, केही दिनपछि उनीहरू फेरि भागेपछि दुई परिवारका बीचमा मनमुटाब सुरु भएको हो ।
सोमबार केटी पक्षले केटाका दाइलाई कुटपिट गरेका थिए । सोही विषयमा आज झडप भएको हो । केटा पक्षका सयौँ मान्छेहरू मोहरम पवरियाको घर घेर्न आउँदा ढुङ्गा हानाहान भएको थियो । पवरियाको कवाडी सङ्कलन स्थलमा पनि आगजनी भएको छ ।
केटी पक्षका सोवराती पवरियाले केटा पक्षका मान्छेलाई गाडीले ठक्कर दिएपछि झडपले उग्ररूप लिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने चालक पवरिया र गाडी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा सोधपुछका लागि प्रहरीले चार महिलालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया