चर्चित युवा गायक एवं संगीतकार विक्रम राईकाे निधन

काठमाडाैं, फागुन १७ ।
चर्चित युवा गायक एवं संगीतकार विक्रम राईको निधन भएको छ । पारिवारिक श्राेतकाअनुसार गएराति हृदयघात भएपछि उपचारका लागि काठमाडाैंकाे बागबजारस्थित मोडल अस्पतालमा पुर्याइएको थियो ।
अस्पताल पुर्याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । अहिले उनको शव अस्पतालमै रहेको गायक तथा संगीतकार महेन्द्र राईले जानकारी दिएका छन् ।
विक्रम राई नेपाली साँगीतिक क्षेत्रमा प्रतिभावान कलाकार थिए । पहिलो नेपाल आइडलसमेत रहेका विक्रमका थुप्रै गीत चर्चित छन् । गायन र संगीत सिर्जनामा उत्तिकै दख्खल भएका विक्रमको निधनको खबर नेपाली साँगीतिक क्षेत्र स्तब्ध भएको छ ।
विक्रमको निधनको खबर सामाजिक सञ्जालबाट बाहिरिने बित्तिकै संगीतकर्मीहरू अस्पतालमा पुगेका छन् भने उनीहरूले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
‘तिम्ले बाटो फेर्यौ अरे’ जस्ता चर्चित गीतका संगीतकार विक्रमका दर्जनभन्दा बढी गीतहरू लोकप्रिय छन् ।
प्रतिक्रिया