हाँस्य कलाकारद्वय धुर्मुस र सुन्तलीविरुद्ध मुद्दा दायर

प्रकाशित मिति: १९ फाल्गुन २०८१, सोमबार १८:५४


काठमाडाैं, फागुन १९ ।
कलाकार तथा सामाजिक अभियन्ताद्वय सीताराम कट्टेल ’धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’विरुद्ध मुद्दा दायर भएको छ । पञ्चकन्या ग्रुपअन्तर्गत पञ्चकन्या स्टिलले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको हो ।

धुर्मुस-सुन्तली फाउण्डेशनले चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि कम्पनीबाट पटक-पटक गरी छड लिएको तर, उक्त सामग्रीको रकम हस्तान्तरण नगरेको भन्दै कम्पनीले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

धुर्मुस-सुन्तलीविरुद्ध लेनदेन कसुरमा मुद्दा दायर भएको श्राेतले जनाएकाे छ । कम्पनीले देवानी मुद्दामा ५२ लाख २ हजार ५ सय ५५ रुपैयाँ भुक्तानी रोकिएको उल्लेख गर्दै फिराद पत्र दायर गरेको हो ।

वि.सं. २०७५ माघ १६ गते आर्थिक सहयोग जुटाएर उनीहरूले चन्दामार्फत् चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको घोषणा गरेर निर्माणमा हात हालेका थिए ।

रंगशाला निर्माणका लागि सामाजिक सञ्जालबाट चन्दा उठाउनेसहित उनीहरूले चितवन महानगरपालिकासहित सरकारी निकायसँग पनि सम्झौताहरू गरेका थिए ।

महानगर र फाउण्डेशनबीच पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसहित ११ जनाको रोहबरमा स्वामित्व हस्तान्तरणका लागि सम्झौता भएको थियो । सम्झौतामा श्राेत अपुग भएमा आपसी सहमतिका आधारमा श्राेत जुटाई निर्माण कार्य सम्पन्न गर्ने दुबैको दायित्व हुने उल्लेख गरिएकाे छ ।

यसैबीच। कोरोना महामारीका कारण स्थिति बिग्रिएपछि श्राेत जुटाउन नसकेको भन्दै धुर्मुस-सुन्तलीले रंगशाला निर्माणबाट बाध्यात्मक अवस्थामा साे कार्यबाट हात झिक्न बाध्य भएका थिए । फाउण्डेशनले निर्माण गर्न नसक्ने व्यहोरासहित भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो । २०७८ माघ २० गते फाउण्डेशनले महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो । तर, स्वामित्व हस्तान्तरणको तीन वर्ष भइसक्दा पनि १ सय ३६ कम्पनीहरूलाई भुक्तान गर्नुपर्ने १८ करोड ४३ लाख रुपैयाँ भुक्तानी हुन सकेको छैन ।

यस विषयमा फाउण्डेशनका कट्टेलसँग बुझ्दा मञ्जुरीनामामा ऋणको दायित्व पनि महानगरले भुक्तानी गर्नेगरी हक हस्तान्तरण गरिए तापनि भुक्तानी नहुँदा त्यसबाट आफू पीडित भएको बताए ।

सहमतिअनुसार ऋण भुक्तानी गरिदिन अनुरोध गर्दै पछिल्लो समय दैनिकजसो सिंहदरबार धाइरहेको र विभिन्न मन्त्रालय तथा मन्त्रीहरूसँग उक्त ऋण भुक्तानी गरिदिन अनुरोध गरिरहेको उनले बताए । ‘रंगशाला निर्माणका क्रममा निर्माण सामग्रीलगायतको खरिदमा १८ करोडभन्दा बढी ऋण लागेको थियो । भरतपुर महानगरपालिकाले स्वामित्व लिइसके पनि उक्त ऋण भुक्तानी हुन नसक्दा त्यसको बोझ मैले बोकेर हिँड्नु परेको छ । त्यो तनावबाट मुक्त हुन अहिले दैनिक सिंहदरबार धाइरहेको छु,’ उनले भने ।

२०७९ चैत २० गते बसेको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणको स्वामित्व लिएर निर्माण अघि बढाउने निर्णय गरेको थियो । अहिले भने ग्लोबल टेण्डरबाट हिमालयन कालिञ्चोक बीबीआर जेभीले रंगशाला निर्माणको ठेक्का पाएर काम अगाडि बढाइसकेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....