गठबन्धनले सरकार त बनायो तर, स्थीर बन्नेमा अनिश्चित !

– अम्बिका अधिकारी
वर्तमान सरकार पाँच वर्षका लागि स्थायी सरकार गठन भएको छ । तर, यसमा शंका भन्ने नेकपा एमाले र माओवादी केन्द्र यी दुई पार्टीभित्रका कार्यकर्ताहरूबीच नै अन्यौलता छाएको छ । सरकार कब्जा गर्न यी दुई पार्टीले बेलैमा वाम गठबन्धनको कुरा निकालेर सरकार आफूहरूको कब्जामा पार्न त सफल भएको छ । तर, यो वर्तमान सरकार पाँच वर्ष निरन्तर चल्छ भन्ने कुरामा शंका नै शंका रहेको एक नेताले आफ्नो नाम नबताउने शर्तमा बताएका छन् ।
ती नेताले भने, माओवादी केन्द्र र एमालेले देखावटी रूपमा मात्र वाम गठबन्धनको कुरा निकालेको हो । यो धेरै समय टिक्ने अवस्था छैन । यी दुई पार्टीका शीर्ष नेताहरूबीच अझै पनि भित्री कलह एकदम भयावह अवस्थामा रहेको छ । बाहिर जे देखिएको छ, त्यस्तो बिल्कुलै छैन । यसपटक दुई पार्टी एक नभए हामी सरकार कब्जा गर्न सक्दैन, त्यसैले तत्काललाई यो वाम गठबन्धनको कुरालाई अघि सारिएको हो । केहीँ गरी यो दुई पार्टीको एकीकरण भए तापनि धेरै समय नटिक्ने उनको भनाई छ । यी दुई पार्टीले सरकारमा हाबी हुन नै यत्ति ठूलो नाटक रचेको हो ।
अहिलेको सरकार बाहिरबाट हेर्दा जत्ति सुन्दर देखिएको छ भित्रबाट खोक्रो अवस्थामा रहेको छ । जुन दुई पार्टीका शीर्ष नेताहरूबीच अहिले नै अलि अलि गरेर बखेडा निकाल्ने कार्य भित्रभित्रैबाट सुरु हुन थालिसकेको छ । कुन दिन यो विष्फोट हुन्छ नराम्रोसँग विष्फोट हुने कुरामा कुनै दुई मत भने छैन ।
ती नेताको भनाईलाई पढ्दा वास्तवमै यो सरकारले पाँच वर्षसम्म निरन्तरता पाउला भन्ने कुरामा शंका भने पक्कै पनि उब्जिएको छ । सरकार गठन हुनुभन्दा अगाडि विभिन्न सञ्चारमाध्यममा केपी ओली तीन वर्ष र पुष्पकमल दाहाल दुई वर्ष प्रधानमन्त्री हुने कुरा सार्वजनिक भएको थियो । अहिले पनि दुई पार्टीबीच कसलाई कुन मन्त्री दिने र कसलाई कुन जिम्मेवारी दिने भन्ने कुराले जटिलता थपिँदै गएको छ । जसका कारण पार्टी एकीकरण पनि पर–पर सर्दै गइरहेको छ ।
योभन्दा अगाडि ठूलो दलको रूपमा उभिएको नेपाली कांग्रेसलाई पत्तासाप गर्ने दाउ यी दुई पार्टीले राम्रोसँग बुनेकै हो र सफल पनि भएको छ । चुनावमा नराम्रोसँग पराजय भोगेपछि प्रतिपक्षमा बस्न बाध्य भएको नेपाली कांग्रेसले राष्ट्रपति, राष्ट्रिय सभाको उपाध्यक्ष लगायत केहीँ–केहीँमा पदका लागि देखाउन मात्र भए पनि प्रतिद्वन्द्वीको रूपमा उम्मेदवारी दर्ता गरे । यो कुरा निश्चित थियो कि नेपाली कांग्रेसले जित्दैन तर, पनि पार्टीको साख जोगाउनका लागि मात्र भए पनि केहीँ पदमा कांग्रेसको तर्फबाट आफ्ना प्रतिनिधिलाई उम्मेदवारी दिन लगाए ।
पक्कै पनि यो कुरालाई हामीले मनन् गर्न सकिन्छ, यी दुई पार्टीका शीर्ष नेताहरू प्रधानमन्त्री जस्तो गरिमामय पदमा आशिन भइसकेका कारणले तल झरेर सानो मान्छे बन्न सक्दैन र सम्भव पनि छैन । त्यसैले पनि पार्टी एकीकरणको मिति सार्न बाध्य भएको देखिन्छ । चुनाव सकिएलगत्तै पार्टी एकीकरणको झ्याली पिटेकै थियो यी दुई पार्टीले तर, अहिलेसम्म पनि पार्टी एकीकरणलाई लम्ब्याउँदै आएको छ । यो भनेको दुई पार्टीबीच भित्री कुरा अझै गहन छ भन्ने कुराको पुष्टि गर्छ । होइन भने, सरकार गठन भइसक्दासमेत पार्टी एकीकरणको कुरा प्रधानमन्त्री ओली र माके अध्यक्ष दाहालले सार्वजनिक रूपमा बोल्न अहिले किन सकेन ।
अर्कोतर्फ, यी दुई पार्टीभित्रका केहीँ नेताहरू अझै पनि असन्तुष्ट नै रहेको अनुमान गर्न सकिन्छ । जसले गर्दा प्रधानमन्त्री ओलीको पद पनि लामो समयसम्म टिक्छ भन्ने कुरामा शंका गर्ने वातावरण श्रृजना भएको छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री त बने तर, बस्ने कुर्सी माओवादीको भन्दा पनि फरक नपर्ला । त्यसैले ओली प्रधानमन्त्री भए तापनि पावर माओवादी अध्यक्ष दाहालको भन्दा फरक पर्दैन कि । त्यसैले दम्भ दुबै नेताले देखाउने अवस्था छैन । एउटाले मात्र तल माथी गरे पनि दुई वटै पार्टी मात्र होइन, नेता कार्यकर्तामा समेत उथल पुथलको अवस्था श्रृजना हुन्छ । जसको परिणाम भनेको पार्टी तहस नहस अवस्थामा पुग्ने नै हो । जसरी अहिले माओवादी पार्टी फुट्दै पाँच टुक्रा भए जस्तै एमाले र माओवादी फुटेमा कांग्रेसलाई दाजुभाई फुटे गवार लुटे भनेजस्तै हुन जानेमा कुनै शंका छैन । त्यसैले पार्टी एकीकरण हात्तीको देखाउने दाँत र खाने दाँत अलग्गै हुन्छ भने जस्तै जनतालाई देखाउनका लागि मात्र यदि पार्टी एकीकरण गरेको खण्डमा जनताले अब कुनै पार्टीका नेताको अनुहार वा दल हेर्ने छैन । सिधैँ नयाँ अनुहार ब्युँताउनेमा कुनै शंका छैन । जुन अहिले विस्तारै सलबलाउँदै जनताका सामु घुलमिल बढाउँदै लगेका छन् । यो कुराको हेक्का वर्तमान सरकारले राख्नैपर्छ । होइन भने वाम गठबन्धनले जनतालाई नराम्रोसँग उल्लु बनायो भन्दै आन्दोलनमा उत्रिन पनि जनता पछि पर्ने छैन । त्यसैले वर्तमान सरकार यस्तो नहोस्, सरकार गठन त गरियो, तर यसलाई बचाउनलाई नै धौ धौ होस् । जसको प्रत्यक्ष निगरानी प्रतिपक्षी दलले एक–एक कुरामा विशेष ध्यान दिएर नियाली रहेका हुनेछन् ।
वास्तवमै भन्नुपर्दा यी दुई पार्टीबीच भित्री मनले दिल खोलेर पार्टी एकता भएको जस्तो अनुभूति गर्न अहिलेको समय परिस्थितिमा यकिन रूपमा विश्वास गर्न सकिने अवस्थाकाे श्रृजना अहिलेसम्म जनताले अनुभूति गर्न पाएका छैनन् ।
प्रतिक्रिया